FAQs Complain Problems

समाचार

इलाम बजार तेश्रो शहरी खानेपानी आयोजना शुरु

इलाममा सञ्चालन हुन लागेको ‘इलाम बजार तेश्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजना’ को निर्माण सुरु भएको छ ।

निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौता भएसँगै आयोजनाको निर्माण कार्य सुरु भएको नगरपालिकाले विहीबार पत्रकार भेटघाट आयोजना गरी जानकारी दिएको छ । सम्झौतालाई विहीबार बसेको बैठकले अनुमोदन गरेको बस्नेताले जानकारी दिए ।

निर्माण पश्चात निर्माण भएका सवै संरचना इलाम नगरपालिकाको स्वामित्वमा रहने इलाम नगरपालिकाका नगर प्रमुख बस्नेतले जानकारी दिए ।
इलाम नगरपालिकाको स्वामित्वमा सञ्चालन हुने आयोजनाको रमण कन्ट्रक्सन कम्पनीले ५७ करोड ९५ लाख ७ हजार रुपैयाँमा ठेक्का लिएको छ ।

खानेपानी आयोजना सञ्चालनका लागि २५ प्रतिशत नगर विकास कोषबाट १४ करोड ४८ लाख ७६ हजार ७ सय ५० रुपैयाँ ऋण लिएको छ । २० वर्षमा साँवा र ब्याज भुक्तानी गर्नेगरी ५ प्रतिशत व्याजदरमा कोषबाट ऋण लिएको हो । त्यस्तै उपभोक्ताबाट लागत सहभागिताको ५ प्रतिशत २ करोड ८९ लाख ७५ हजार ३ सय ५० हजार रुपैयाँ मार्फत आयोजना सञ्चालन गर्न लागिएको हो । आयोजना २ वर्ष भित्रमा सम्पन्न हुनेगरी सम्झौता भएको छ ।

आर्थिक वर्ष ०७७/७८ सम्ममा सम्पन्न गरिसक्नुपर्ने आयोजनाका लागि एसीयाली विकास बैंक (एडीबी) ले ७० प्रतिशत अनुदान उपलब्ध गराउनेछ ।

एडिबीको आर्थिक सहयोगमा इलाममा अहिलेसम्मकै ठूलो खानेपानी आयोजना सञ्चालन हुन लागेको हो ।

खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका चार वटा खोलाको मुहानबाट पानी ल्याउने तयारी छ । आयोजनाबाट सदरमुकाममा प्रतिसेकेन्ड ४१ लिटर पानी आउनेछ । साना सहरी आयोजनाले हेरेको र अहिले पानी आपूर्ति भइरहेको खानेपानी आयोजनाको मुहान एउटै हो । साना सहरीले सदरमुकामबाट करिब ३२ किलोमिटर को सन्दकपुर गाउँपालिकाको गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवाखोलाबाट १०–१० तथा सुम्बेकको भाँडीखोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति डिजाईन तयार भएको छ ।

आयोजनाको सुरुको वर्ष दुई हजार सात सय ९८ घरधुरको २१ हजार चार सय ३३ उपभोक्तालाई दिनको सय लिटरको दरले खानेपानी पुग्ने अनुमान आयोजनाको छ । २० वर्षपछि यही आयोजनाको खानेपानी उपभोग गर्ने उपभोक्ताको संख्या ३० हजार तीन सय २५ पुग्ने अनुमान छ ।

यस्तै कार्यपालिका बैठकले नगरपालिका भित्र यसै शैक्षिक सत्रदेखी मेडिकल कलेज सञ्चालन गर्न सिटिइभिटीसँग सहकार्य गर्ने, त्यसका लागि पहल गरिदिन संघीय सांदिलाई अनुरोध गर्ने, जिल्ला प्रशासन कार्यालय इलामको पुरानो भवनमा संग्रालय स्थापनाका लागि कार्य अगाडी बढाउने निर्णय भएको  छ ।

समाचार साभार :www.nayabulanda.com ,नयाँ बुलन्द